Wednesday, April 18, 2018

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, ५ वैशाख २०७५)

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, ५ वैशाख २०७५)

प्रमुख गतिविधि
कम्पनीले प्रस्ताव गरेको ४० प्रतिशत हकप्रद शेयर विक्री गर्न धितोपत्र बोर्डबाट चैत १ गते स्वीकृत पाएको छ । उक्त हकप्रद शेयर विक्री गर्न आगामी २०७५ वैशाख ५ गते बूक क्लोज मिति तय गरिएको छ । अर्थात् वैशाख ४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद खरीद गर्न पाउनेछन् । उक्त प्रयोजनका लागि एनआईसी एशिया क्यापिटललाई कम्पनीले विक्री प्रबन्धकको जिम्मेवारी प्रदान गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
  • कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ५०७ प्रतिशत वृद्धि गरी ७ करोड २६ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ७८ लाख रुपैयाँ घाटा बेहोरेकोे थियो ।
  • खुद मुनाफा आर्जनमा भएको उल्लेख्य वृद्धिसँगै प्रतिशेयर आम्दानी पनि उल्लेख्य रूपमा बढ्दै २० रुपैयाँ १३ पैसा कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ रुपैयाँ १५ पैसा ऋणात्मक थियो ।
  • जगेडा ८९ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १७ करोड ५३ लाख रहेको जगेडा यो त्रैमासमा ३३ करोड ८ लाख पुगेको छ ।
  • जीवन बीमा कोषमा ४७ प्रतिशत वृद्धि भएर २ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ भने महाविपत्ति कोषमा ४ करोड २२ लाख रुपैयाँ राखेको छ ।
  • कुल बीमा शुल्क आर्जन रकम ४२ प्रतिशत वृद्धि भएर ७२ करोड २० लाख पुग्दा खुद बीमाशुल्क आम्दानी गत त्रैमासको भन्दा ४८ प्रतिशत वृद्धि भएर ६८ करोड १२ लाख पुगेको छ ।
  • यस त्रैमाससम्ममा कुल दाबी भुक्तानी रकम २९ प्रतिशत वृद्धि भएर ८ करोड ९७ लाख छ । त्यस्तै, खुद दाबी भुक्तानी ५ करोड ९८ लाख छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ३१ प्रतिशत धेरै हो ।
  • कुल दाबी भुक्तानी सङ्ख्या ३ सय ४७ छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या ५ छ ।
  • दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी २० दशमलव १३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ५१ दशमलव ६९ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ६ सय २६ दशमलव ६१ रुपैयाँ छ ।

निष्कर्ष :
समीक्षा अवधिमा कम्पनीले पूँजी वृद्धिअनुरूप व्यवसायमा वृद्धि गर्न सफल भएको छ । खुद मुनाफालाई उल्लेख्य रूपमा बढाउनुलाई उसको सकारात्मक पक्षका मान्नुपर्छ । तर, चालू आव २०७४/७५ को अन्त्यमा बीमा समितिले तोकेको न्यूनतम चुक्तापूँजी २ अर्ब पु¥याउन ४० प्रतिशत हकप्रद जारी गरेसकेपछि पनि थप ठूलो मात्रामा पूँजी वृद्धि गर्नुपर्ने हुन्छ । यसले गर्दा कम्पनीलाई पूँजी वृद्धिअनुरूप प्रतिशेयर आम्दानी र लाभांशलाई सन्तुलन राख्न र नयाँ खुलेका जीवन बीमा कम्पनीसँग थप प्रतिस्पर्धा गर्नुपर्ने चुनौती थपिएको छ ।
प्राविधिक विश्लेषण : उच्च अङ्कले बढ्दै सूर्या लाइफ

प्रतिरोध २ : १००० । प्रतिरोध १ : ९७० । अन्तिम कारोबार मूल्य : ९५० । टेवा १ : ८०० । टेवा २ : ७१५
बजारको अवस्था
गत सातायता सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढ्दो प्रवृत्तिमा छ । यस कम्पनीको शेयरमूल्य २ हप्तायता उच्च अङ्क बढ्दै आएको छ । मङ्गलवार कम्पनीको शेयरमूल्य ३२ रुपैयाँ अर्थात् ३ दशमलव ४९ प्रतिशत बढेर ९ सय ५० रुपैयाँमा बन्द भएको छ भने ६४ हजार ४ सय ९६ कित्ता शेयर कारोबार भएको छ ।
मुभिङ एभरेज
पाँचदिने र २१ दिने मुभिङ एभरेजअनुसार सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढ्दो प्रवृत्तिमा छ ।
एटीआर
एटीआर सूचक बढ्दो प्रवृत्तिमा रहेको हुनाले यस कम्पनीको शेयरमूल्यमा उतारचढाव बढ्दो क्रममा रहेको बुझाएको छ ।
स्टोकास्टिक
स्टोकास्टिक सूचक ओभरबट क्षेत्रमा गएको छ, जसले यस कम्पनीको शेयरमा खरीदकर्ताको चाप अत्यधिक रहेको बुझाएको छ ।
एडीएक्स
एडीएक्स सूचकबमोजिम यस कम्पनीको शेयरमूल्य बढ्दो प्रवृत्तिमा छ । एडीएक्स सूचकको नकारात्मक सूचक सकारात्मक सूचकभन्दा तल रहेको हुनाले कम्पनीको शेयरमूल्य बढ्दो प्रवृत्तिमा रहेको सङ्केत गरेको हो ।
निष्कर्ष
विभिन्न प्राविधिक सूचकले यस कम्पनीको शेयरमूल्य बढ्दो प्रवृत्तिमा रहेको बुझाएको छ । यसले आगामी दिनमा पनि बढ्ने सम्भावना उच्च रहेको सङ्केत गरेको छ । तर, बजार यसरी ओभरबट क्षेत्रमा रहँदा अचानक विक्रेताको चाप आउने सम्भावना पनि हुन्छ । त्यस कारण मैनबत्तीलाई विशेष ध्यान दिँदै कारोबार गर्नुपर्ने देखिन्छ ।
Source : Abhiyan

No comments:

Post a Comment