Thursday, April 12, 2018

लक्ष्मी बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, २९ चैत २०७४)

लक्ष्मी बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, २९ चैत २०७४)

प्रमुख गतिविधि
बैङ्कको गत मङ्सिरमा सम्पन्न १७औं वार्षिक साधारणसभाले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका निम्ति शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
  • कम्पनीले चालू आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा खुद मुनाफा ५१ करोड ९२ लाख रुपैयाँ कमाएको छ । यो गतवर्षको सोही अवधिको तुलनामा २८ प्रतिशत बढी हो । उसले गतवर्षको सोही अवधिमा ४० करोड ६३ लाख रुपैयाँ कमाएको थियो ।
  • यो आवमा कम्पनीको चुक्तापूँजी अघिल्लो आवको सोही त्रैमासको तुलनामा १७१ प्रतिशत वृद्धि भई ८ अर्ब २२ करोड पुगेको छ । गत आवमा बैङ्कको चुक्तापूँजी ३ अर्ब ३ करोड ९२ लाख थियो ।
  • ठुलो मात्रामा पूँजी वृद्धि गरेकाले अघिल्लो वर्षको तुलनामा बैङ्कको प्रतिशेयर आम्दानीमा कमी आएको छ । कम्पनीद्वारा प्रकशित दोस्रो त्रैमासको प्रतिवेदनअनुसार प्रतिशेयर आम्दानी १२ दशमलव ६३ रुपैयाँ छ ।
  • दोस्रो त्रैमाससम्म आइपुग्दा जगेडा कोषमा सञ्चित रकम १ अर्ब ८८ करोड पुर्‍याएकोे छ । प्रस्तावित लाभांश तथा लेखापरीक्षण समायोजनका कारण जगेडा कोषको आकार समीक्षा अवधिमा ४८ प्रतिशत कमी आएको देखिन्छ ।
  • निक्षेप र कर्जाको कुरा गर्दा उसले योे त्रैमासमा ६० अर्ब २७ करोड निक्षेप उठाई ५५ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ ।
  • निक्षेप ९ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह १८ प्रतिशत वृद्धि भएको छ ।
  • खुद ब्याज आम्दानीे २९ प्रतिशत बढाउँदै ९९ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
  • सञ्चालन मुनाफा ४१ प्रतिशत बढाउँदै ६९ करोड ५ लाख रुपैयाँ पुर्‍याएको छ ।
  • बैङ्कले जोखीमबापत १९ करोड ६ लाख रुपैयाँ व्यवस्था गरेको छ भने जोखीम कोषबाट ४ करोड ३८ लाख रुपैयाँ फिर्ता गरेको छ ।
  • बैङ्कको निष्क्रिय कर्जा कम भएर १ दशमलव ३१ प्रतिशतबाट १ दशमलव २९ प्रतिशतमा आएको छ ।
  • निक्षेप सङ्कलनको अनुपातमा कर्जा लगानीको अनुपात बढेपछि सीसीडी रेशियो ७७ दशमलव ९३ प्रतिशत पुगेको छ ।
  • बैङ्कले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १२२ दशमलव ९४ रुपैयाँ, कोषको लागत ७ दशमलव ४२ प्रतिशत र तरलता अनुपात २१ दशमलव ५६ प्रतिशत छ ।
निष्कर्ष
समीक्षा अवधिमा बैङ्कले ठूलो मात्रामा आफ्नो चुक्तापूँजी वृद्धि गरेअनुरूप खुद मुनाफा वृद्धि भएको छैन । यस्तो अवस्थामा प्रतिशेयर आम्दानीमा कमी आउनु स्वाभाविक मान्नुपर्ने हुन्छ । बैङ्कका अन्य वित्तीय सूचकतर्फ हेर्ने हो भने प्रगति भने सन्तोषजनक देखिन्छ । निक्षेप सङ्कलन, कर्जा परिचालन, खुद ब्याज आम्दानी र खुद मुनाफामा सुधार गर्दै बैङ्क अघि बढ्दै गरेको देखिन्छ ।
प्राविधिक विश्लेषण : लक्ष्मी बैङ्क टेवाक्षेत्रमा
प्रतिरोध २ : २७६ । प्रतिरोध १ : २५७ । हालको अन्तिम मूल्य : २४४ । टेवा १ : २३८ । टेवा २ : २२४
बजारको अवस्था
यस कम्पनीको ११ अप्रिल, २०१८ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा अन्तिम कारोबार मूल्य २ सय ४४ मा छ । अघिल्लो दिन पनि यही मूल्यमा बजार बन्द भएको थियो । त्यस दिनको परिमाण ४ हजार १ सय ७७ मा छ । यो अघिल्लो दिनको भन्दा २ हजार ८ सय ४७ कित्ता कम हो ।
मूल्यको प्रवृत्ति विश्लेषण :
३ सातादेखि मूल्य बढे पनि चार्टमा देखिएबमोजिम विगत ८ महीनादेखि बजारको माथिल्ला र तल्ला बिन्दुहरू घटिरहेकाले बजार पूर्णरूपमा बढ्दो प्रवृत्तिमा रहेको देखिँदैन । हाल मूल्य केही सच्चिएर टेवा क्षेत्रतिर रहेको देखिन्छ ।
अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : ५० दिनको ईएमएभन्दा मूल्यको प्रवृत्ति तल रहेकोले बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ । यो ईएमए हाल प्रतिरोधको रूपमा देखिन्छ ।
स्टोकास्टिक अक्सिलेटर : यो सूचकले पछिल्लो समयमा क्रेताको चाप केही कम भएको सङ्केत गर्दछ ।
रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ५० अङ्कमा छ । यसको प्रवृत्तिले बजार सकारात्मक क्षेत्रमा रहेको सङ्केत गर्दछ ।
मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले त्यस दिन बजारमा क्रेताको चाप रहेको देखिन्छ ।
निष्कर्ष
यदि मूल्य २ सय ६० भन्दा माथि स्थिर रहन सकेमा बजार अझ सकारात्मक हुन सक्ने प्रबल सम्भावना देखिन्छ । त्यस्तै, यदि मूल्य २ सय २४ भन्दा तल रहेकमा बजार नकारात्मक हुन सक्ने र अर्को तत्कालीन टेवा २ सय ९ मा देखिन्छ ।
Source : Abhiyan

No comments:

Post a Comment